काठमाडौ । नेकपा एमालेले राजनीतिमा बृद्ध नेतालाई रोक्ने नीति विधानमा नै लेख्न लागेको खबर सुनेपछि त्यो कुरा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चित्त बुझेन ।
उहाँले राजनीतिक दलभित्र उमेरहदको व्यवस्था अप्राकृतिक र अराजनीतिक रहेको टिप्पणी गर्नुभयो । शुक्रबार तनहुँ पुगेर नेता पौडेलले यस्तो बताउनुभएको हो ।
एमालेमा ७० वर्षे उमेर हद लागू गरिएको सन्दर्भसमेत जोड्दै पौडेलले ‘केही नेता सिध्याउन र केही नेता जोगाउन’ उमेरहदको व्यवस्था गरिएको टिप्पणी गर्नुभयो ।
‘एमाले पार्टीले अघिल्लो महाधिवेशनमा ७० वर्षे उमेर हद लगायो,’ पौडेलले भन्नुभयो, ‘त्यसबाट एमालेको उपलब्धी के भयो ?
उसको उपलब्धी भनेको एमालेभित्रका लोकप्रिय, लोकतान्त्रिक, निष्ठावान् र चरित्रवान् दुईजना नेतालाई सिध्याइयो । भरतमोहन अधिकारी र सिद्धिलाल सिंहजस्ता लोकतन्त्रवादी र इमान भएका नेता सिध्याउन ७० वर्षे लाग्यो ।’
अधिकारी र सिंहलाई पाखा लाएपछि फेरि उमेरको कुरा हराएको थियो पौडेलले बताउनुभयो । उहाँले ‘बलियाले अन्तै लगिहाले कुरा ।
अहिले फेरि केपी ओली ७० नपुग्दै अधिवेशन भए लागू हुन्छ, ७० पुगे भने फेरि हटाउँछन् ।’
यस्तै पौडेलले कांग्रेसमा पनि विगतमा एक व्यक्ति, एक पदको अवधारणा ल्याएर डा. रामशरण महतलाई राजीनामा दिन लगाइएको तर अरुलाई नियम नलागेकोमा चित्त दुखाउनुभयो ।