काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता भएकी छिन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः२२ बजे साथीलाई सन्देश पठाएको र ४ः२५ बजेदेखि मोबाइल बन्द भएको छ ।

मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्ने क्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्रहरीचौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो ।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ । अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु