काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापतिको घोषणा गरिसक्नुभएका नेता प्रकाशमान सिंहले फस्र्ट म्यानको नेतृत्वमा रहेर पार्टीलाई सुदृढीकरण गर्ने दाबी गर्नुभएको छ ।

 

शनिबारदेखि सुरु भएको काठमाडौं महानगरपालिका अधिवेशनको समुद्घाटन कार्यक्रममा सिंहले काँग्रेस पार्टीको विगत र वर्तमान अवस्थाको समिक्षा गर्नुहुदै पार्टी संगठनलाई मजबुत बनाउन आफूले केन्द्रीय सभापति पदमा दाबी गरेको बताउनुभयो ।

काँग्रेसको पहिलो निर्वाचित महामन्त्रीको जिम्मेवार सम्हालिसक्नुभएको उहाँले पार्टीमा उपसभापति लगायत वर्किङ कमिटीदेखि नै आफूले योगदान गर्दै आएको विषयमा पनि पुनः प्रकाश पार्नुभयो ।

‘गणेशमान सिंहको परिवारले सधैं त्याग मात्रै गर्नुपर्ने हो ? म काठमाडौंको भएर वा मंगलादेवीको छोरा भएको भएर डिस्क्वालिफाइ हुन्छु ? पार्टीका वरिष्ठ नेताहरुले मलाई कन्भिनस गर्नुप¥यो, मेरो कमजोरी के हो ?’, सिंह बताउनुहुन्छ ।

काँग्रेसमा ए काँग्रेस, बी कँग्रेस र सी काँग्रेस मौलाएको तर नेपाली काँग्रेस खोज्नुपर्ने अवस्था आएकोप्रति चिन्ता व्यक्त गर्नुहुदै उहाँले नेतृत्वका लागि जिल्ला तहबाट दबाब आएको पनि बताउनुभयो ।

‘शाही आयोग गठन गर्दा राजालाई पहिलो चुनौती दिने पनि मै हुँ । गणेशमान र मंगलादेवीको छोराले राम्रै गरेर गयो भन्ने बाहेक मेरो अरु इन्ट्रेस्ट् छैन’, सिंहको भनाई छ ।

विश्वको जुनसुकै देशमा नेपालीको नागरिकता देखाउदा शीर निहुराउनु नपर्ने वातावरण बनाउन पनि आफ्नो नेतृत्व आवश्यक रहेको सिंहले प्रष्ट्याउनुभयो ।

सम्बन्धित खबरहरु