काठमाडौं । नेपालमा पुनः भुकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।

वि.सं. २०७२ को महाभूकम्प वि.सं. २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको थियो। विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प थियो।

भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान लिएको थियो। यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कयौँ मानिसहरूको हताहात भएको थियो।

भूकम्पले गर्दा काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू भत्किएका थिए जसमा बसन्तपुर दरवार क्षेत्र पनि रहेको छ।

सम्बन्धित खबरहरु