काठमाडौं । यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको छ ।
अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे ।
यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ ।
जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्छ, न्यूनचापीय रेखा बन्न र जलवाष्पको आवतजावतमा कमी आउनुपर्छ ।
तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । ” पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ ।
त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको जानकारी उहाँले दिनुभयो । जल तथा मौसम विज्ञान विभागले तय गरेको मनसुनको पाँच महिनाको अवधिमा यो वर्ष १५ प्रतिशत बढी वर्षा भएको थियो ।
विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । त्यस आधारमा धेरै बढी वर्षा नभए पनि १५ प्रतिशत बढी वर्षा भएको जानकारी विभागस्थित जलवायु विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले दिनुभयो । उहाँका अनुसार सरदरको हिसाब गर्ने हो भने यो वर्षभन्दा गत वर्ष बढी वर्षा भएको थियो ।