काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । पूर्व अर्थ एवं ऊर्जामन्त्री अनन्तको स्वास्थ्यमा सुधार आएको हो ।

नेता पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत हुनुहुन्छ । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिइएको थियो ।

उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको जानकारी दिनुभयो । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् ।

उक्त औषधिले राम्रो काम गर्न थालेको उहाँले उल्लेख गर्नुभयो । नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको जानकारी दिइएको छ । यद्यपि बान्ता भने नरोकिएको जानकारी उहाँले उल्लेख गर्नुभयो ।

खाना खान मन नलाग्ने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ ।

जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो ।

तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको पुनको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबरहरु