काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ ।

यही असोज १५ गतेबाट सुरुआत भएको महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो ।

अहिले जारी प्रस्तुतिमा अब दुई समूहको प्रस्तुति हुन बाँकी रहेको र यसपछि खाना समय हुने जनाइएको छ । यसपछि प्रतिवेदन प्रस्तुतकर्ताको जवाफ हुने र समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि गर्नेछ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा छ हजार ३४७ प्रतिनिधिले भाग लिइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कुनै पनि कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर हद प्रस्ताव गरिएको छ ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनले नै तय गरेको यो उमेर हद यस पटक फेरिन्छ भन्ने सार्वजनिक शङ्का रहेको थियो ।

त्यस्तै, केन्द्रदेखि जिल्ला तहसम्म एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी नरहने व्यवस्थासमेत विधान संशोधन मस्यौदामा गरिएको छ ।

कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन उम्मेदवार भएमा निजको कार्यरत रहेको पद स्वतः रिक्त हुने व्यवस्था विधान मस्यौदामा गरिएको छ ।

सम्बन्धित खबरहरु