काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्नु भएको छ ।

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटारमा अखिल क्रान्तिकारी विद्यार्थीहरुसँग बसेको बैठकमा सिंहलाई अध्यक्ष बनाइएको हो ।

आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाउनु भएको थियो । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार हुनुहुन्थ्यो । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई नै दिएको थियो ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा भूमिगत हुनुभयो । त्यसबेला उहाँको उमेर १४ वर्ष थियो ।

सुरुका ५÷६ महीना कलाकारको टिममा पनि रहनु भएको थियो । त्यसलगत्तै विद्यार्थी संगठनमा आबद्ध हुनुभयो ।

सिंहले ०५९ सालमा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पनि पाइसक्नु भएको छ ।

१७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएकी सिंहले ०६५ मा भेरी–कर्णालीको संयोजकको जिम्मेवारी पाउनुभयो ।

त्यसपछि केन्द्रीय सचिव निवार्चित हुँदै नरेन्द्र न्यौपाने अध्यक्ष हुँदा पञ्चा उपाध्यक्षको जिम्वारीमा हुनुहुन्थ्यो ।

सम्बन्धित खबरहरु