काठमाडौं । नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।

आज बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ ।

अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ ।

सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै रु १० हजार जरिवाना गरेको छ ।

स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु