काठमाडौ । आगामी वर्षका लागि अर्थात् सन् २०२३ का लागि अमेरिकी सरकारको विदेश मन्त्रालयले ( इडिभि चिठ्ठा ) डिभी लोटरीको फर्म भर्ने समय खोलेको छ ।

विदेश मन्त्रालयका अनुसार न्युयोर्कको स्थानीय समयअनुसार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी फारम अनलाइन मार्फत भर्न सकिने भएको छ ।

नेपाली समय अनुसार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिने पनि विदेश मन्त्रालयद्वारा सूचनामा जनाइएको छ ।

डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ। विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

यसपटक डिभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन्। तर मकाउ र ताइवानका भने योग्य हुनेछन् ।

डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुन सक्नेछन्। त्यस्तै, बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु