काठमाडौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छ ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी र अन्य दलहरुबीच आज मन्त्रिपरिषद विस्तारका लागि सहमति नजिक छ ।

धेरै मन्त्रालयको बाडफाँड र मन्त्रीहरु नै टुंगो लागिसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताउनुभएको हो ।

सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताउनुभयो ।

‘क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिस अझै जारी छ’ उहाँले पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा भन्नुभयो, ‘नभए आज टुंग्याउने भएको हुनाले मलाइ समयको दबाब छ ।’ भोलि सम्ममा हुन्छ ।

नेकपा एसबाट मन्त्री
एकीकृत समावादीबाट सरकारको विरोध खतिवडाले नेतृत्व गर्ने बुझिएको छ । समाजवादीले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ मन्त्री बन्ने लगभग पक्का छ ।

माओवादीबाट थप मन्त्री

माओवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री मात्र थप हुनेछन्। स्रोतका अनुसार यसअघि मन्त्री नभएकालाई पार्टीले प्राथमिकतामा राखेको छ । जसमा स्थायी समिति सदस्य देवेन्द्र पौडेल मन्त्री हुने पहिलो लिस्टमा हुनुहुन्छ ।

यस्तै, अर्का स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ पनि सरकारमा जान खोज्नुभएको थियो । तर, प्रतिनिधिसभा चुनाव हारेका कारण उहाँ सरकारमा गए नराम्रो सन्देश जाने भन्दै माओवादीले अञ्जना विशंङखे र शशी श्रेष्ठमध्ये एक जनालाई अगाडि सारेको छ।

यसैगरी सबै समुदाय र भूगोलको प्रनिधित्व गराउनुपर्ने कुरालाई आत्मसाथ गर्दै माओवादीले सुदन किराती, महेश्वर गहतराजलाई पनि मन्त्री बनाउने तयारी गरेको छ । यता मधेशी र थारु समुदायबाट भने अमनलाल मोदी र सन्तकुमार चौधरीबाट एक जना मन्त्री छानिने श्रोतको दावी छ ।

कांग्रेसबाट को-को ?

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । यस्तै, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । यस्तै, पुष्पा भुषाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा ल्याउँने श्रोतको दावी छ ।

यस्तै, सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाउनुभएको थियो । १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गर्नुभएका देउवाले ६ असोजमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्नुभयो ।

जसपाबाट यी नाम चर्चामा
जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ ।

प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएको स्रोतको दावी छ । यस्तै, जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चित जस्तै छ ।

सम्बन्धित खबरहरु