काठमाडौ । कोरोना महामारीले थलिएको फिल्म क्षेत्रलाई अब कसरी उठाउने भन्ने बहसको सट्टा जबरजस्ती ‘महानायक’ विवाद आयो ।

यसले नेपाली चलचित्र जगतलाई नै लज्जित बनायो । लज्जित बनाउँने एक पात्र हुन् निर्माता एवं अभिनेता शोभित बस्नेत ।

गत वर्ष दीपाश्री निरौलाले ‘महानायक’ विवाद झिकेपछि फिल्म क्षेत्र लामो समय यसैमा रुमलियो । अघिल्लो हप्ता एक कार्यक्रममा भुवन केसीले शिव श्रेष्ठलाई ‘महानायक’ भनेपछि यो विवाद फेरि चर्कियो ।

एक दशक अगाडि ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले पहिलो पटक राजेश हमाललाई ‘महानायक’ घोषणा गरेको थियो ।

यसपछि चलचित्र प्राविधिक संघले औपचारिक कार्यक्रमकै बीच उनलाई ‘महानायक’ को उपाधि दियो ।

त्यसबेलादेखि यो विषयमा बहस हुँदै आएको छ । दर्शकको ठूलो वर्गले राजेश हमाललाई ‘महानायक’ मानेको छ भने फिल्मकर्मीहरुको भिन्न भिन्नै मत छ ।

राजेश हमाललाई ‘महानायक’ को पदवी दिएकोमा सबैभन्दा असन्तुष्ट यदी कोही छ भने भुवन केसीपछि निर्देशक शोभित बस्नेत हुन् ।

सबैभन्दा धेरै सफल फिल्म दिएकाले भुवन आफूलाई ‘महानायक’ को हकदार ठान्छन् । यद्यपि, उनले खुलेरै आफूलाई ‘महानायक’ चाहिँ भनेका छैनन् । तर, कसैले ‘महानायक’ को रुपमा सम्बोधन गर्छ भने उनले मौन स्वीकृति जनाउने गरेका छन् ।

शोभित बस्नेतले त भुवन केसीलाई नै ‘महानायक’ घोषित गर्न लागिपरेको कुरा कसैबाट लुकेको छैन । उनले राजेश हमाललाई ‘महानायक’ नभइ ‘जनताको नायक’ भन्ने गरेका छन् ।

यही कारणले गर्दा उनी बारम्बार विवादमा आइरहेका हुन्छन् । हमालका प्रशंसकहरुले त उनलाई रत्ति रुचाउँदैनन् । फिल्म क्षेत्रभित्रै कतिपयले उनलाई भुवन केसीको ‘प्रवक्ता’ समेत भन्ने गरेका छन् ।

अघिल्लो हप्ता आफू निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ को पहिलो गीत सार्वजनिक कार्यक्रममा शोभितले फेरि भुवन केसीलाई ‘महानायक’ को रुपमा सम्बोधन गरे ।

सामाजिक सञ्जालमा अहिले उनलाई गाली ओइरिएको छ । आफ्नो बोलीमा फिल्मकर्मी र दर्शक सहमत नभएपछि आइतवार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले राजेश हमाललाई नै ‘महानायक’ स्वीकार गरे ।

राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम सुरु गरेका उनले तस्विरलाई ढोग्दै अब भुवन केसीलाई ‘महानायक’ नभन्ने वाचा गरे । उनले भने, ‘म गलत रहेछु ।

मैले सधैं राजेश हमाललाई सुपरस्टार भनेँ । मलाई लागेको थियो कि संसारमा सुपरस्टारभन्दा ठूलो पदवी अरु छैन । तर, मैले उहाँलाई सुपरस्टार भन्दा धेरैले विरोध गरेँ । त्यसैले हात जोडेर माफी माग्छु कि मैले ‘महानायक’ भन्दा ‘सुपरस्टार’ ठूलो बुझेछु । अब म पनि राजेश हमाललाई ‘महानायक’ भन्छु । उहाँ ‘महानायक’ नै हुन् र सधैंभरी रहिरहनु हुनेछ ।’

राजेश हमाललाई ‘महानायक’ स्वीकार गरेका कारण कार्यक्रममा तस्विरलाई प्रमुख अतिथी बनाएको बताउँदै उनले अब आफूले भुवन केसीलाई सधैं ‘सुपरस्टार’ मात्र भन्ने बताए ।

उनले चाँडै राजेश हमाललाई लिएर नयाँ फिल्म बनाउने पनि घोषणा गरेका छन् । रोचक कुरा के छ भने शोभितले आफ्नो करिअरमा सबैभन्दा बढी फिल्म (१७ वटा) नै राजेश हमाललाई लिएर बनाएका छन् ।

सम्बन्धित खबरहरु