काठमाडौं । पूर्व राज परिवारको घरमा चोरी भएको छ । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको हो ।

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरमा चोरी भएको जानकारी दिइएको छ ।

सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले घटनाबारे पुष्टि गर्नुभयो । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् । प्रहरीका अनुसार शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको छ ।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएका थिँए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट पक्राउ गरेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताउनुभयो ।

आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ । प्रहरीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको जानकारी दियो ।

सम्बन्धित खबरहरु