काठमाडौ । भारतीय राज्य उत्तर प्रदेशमा आंशिक कर्फ्यू लगाइएपछि दशैँमा स्वदेश फर्किने नेपालीहरूलाई बाटोमा समस्या परेको छ।

आइतबार भएको एउटा घटनामा ८ जनाको मृत्यु भएपछि त्यहाँको प्रशासनले लखीमपुर खीरीमा धारा १४४ लागु गरेको छ।

यही बेला कैलालीको खक्रौला र गौरीफन्टा हुँदै स्वदेश फर्किने नेपालीहरू बाटो र सडक अवरूद्ध गरिएपछि अलपत्र परेका हुन्।

यस्तै, करनाल हाइवेमा किसानहरूले जाम गरिदिएका छन्। यूपीको लखीमपुर खीरी मामललाको संवेदनशीलतालाई हेरेर प्रशासनले ६ अक्टूबरसम्म आरएएफ र एसएसबीको दुई–दुई कमाण्ड तैनाथ राखेको छ।

ठाउँ–ठाउँमा प्रहरी र किसान दुबै पक्षले जिल्लाका केही नाका बन्द गरेकाले स्वदेश फर्किने नेपाली समस्यामा परेका हुन्।

भारतबाट फर्केका धनगढीका सत्यराज अवस्थीले चोक–चोकमा बसेका किसान आन्दोलनको समर्थकले नेपालतर्फ आउने गाडि हिँड्न नदिएको बताए।

‘गाडी आउन नदिएपछि पैदल, रिक्सामा महँगो भाडा तिरेर आउनु परिरहेको छ, इन्टरनेट, मोबाइल नेटवर्क पनि बन्द गरिएको छ, कैयौं गाडी, ट्रक, जीप भ्यान बाटोमै रोकिएका छन्,’ उहाँले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिका–८ का वडाअध्यक्ष दीर्घ ठकुल्लाले नेपाली नागरिकलाई खक्रौला नाका हुँदै आवतजावतमा अप्ठ्यारो भइरहेको जानकारी दिनुभयो । ‘अहिले भारतबाट आउनेलाई बढी समस्या भएको छ उहाँले जानकारी दिनुभयो ।

कैलालीको खक्रौला भन्सार नाकास्थित बिओपीका प्रमुख अनिल ओलीले नेपाली नागरिकलाई सहजताका लागि भारतीय एसएसबीका अधिकारीसँग छलफल गरिएको जानकारी दिनुभयो ।

‘नेपालीहरूलाई आउन दिनु भनेर कुरा गरिसकेका छौं, आज भारतबाट ६ जना नेपाली स्वदेश भित्रिएका छन्, हिजोअस्तीजस्तो आवतजावत छैन, सुनसान छ,’ उहाँले बताउनुभयो ।

नेपालको कैलालीको पूर्वी दक्षिणी क्षेत्रसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले किसानहरूलाई ठक्कर दिएर ८ जनाको मृत्यु भएको आरोप लागेको छ । सोही घटनाको विरोधमा किसानहरु थप आक्रोशित बनेका छन् ।

सम्बन्धित खबरहरु