काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको आकस्मिक पूर्णबैठक (फुलकोर्ट) बोलाउनुभएको छ ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक दिउँसो १ बजेपछि बस्नेगरी तय भएको छ ।

दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन ।

यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ । योसँगै सञ्चार माध्यममा आएको अदालतले कार्यपालिकामा भाग खोजेको भन्ने विषयमापनि कसरी यसलाई जवाफ दिने विषयमा न्यायाशीशहरुसँग प्रधानन्यायाधीशले परामर्श गर्ने बुझिएको छ ।

सम्बन्धित खबरहरु