काठमाडौ । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू र सबै नेपाली खुशी रहेको बताएका छन् ।

उनले यो प्रतियोगितामा तीन अंक नै ठूलो भएकाले अहिलेदेखि नै खुशी मनाउँन थाल्नुपर्ने बताए ।

मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो ।

‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो प्रतियोगितामा अंक धेरै महत्वपूर्ण छ । हामीले आज ६ अंकमा ६ अंक नै जोडेका छौँ ,’ खेलपछि पोष्टम्याच कन्फ्रेन्समा अलमुताइरीले भने ।

उनले नेपालको लागि तीन अंक नै ठूलो भएको बताए । पाँच राष्ट्र सम्मिलित साफमा नेपालले लगातार दुई जितबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ । श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।

दोस्रो जितपछि नेपालको अब फाइनल पुग्ने सम्भावनासमेत बढेको छ । प्रशिक्षक अलमुताइरीले पनि यस जितले फाइनल पुग्ने सम्भावना बढाएको बताएका छन् ।

‘नेपालको अब फाइनल पुग्ने सम्भावना बढेको छ । हामीलाई पाँच दिन रेस्ट छ र त्यसमा तयारी गर्ने अवसर छ ।’

उनले भनेका छन् यो पटकको साफ च्याम्पियनसिपको उपाधीमा नेपालको दावी हो । हामी दाबेदारी प्रस्तुत गरिरहेका छौ । उपाधि लिएर चाँडै घर फर्किनेछौ ।

उनले म्याच डे थ्री मा पनि केही आश्चर्यजनक नतिजा आउने अपेक्षा राखेका छन् । म्याच डे थ्री मा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच खेल हुनेछ ।

नेपालले अब अर्को खेल असोज २४ गते भारतसंग खेल्नेछ । त्यसपछि बंगलादेशसंग असोज २७ गते खेल्नेछ ।

 

सम्बन्धित खबरहरु