काठमाडौं । ३३ किलो सुन प्रकरणमा महत्वपूर्ण फैसला आएको छ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको ज्यान लिएको मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य मृत्यु प्रकरण नेपालमा निकै चर्चामा रहेको थियो ।

सो प्रकरण छोटकरीमा ३३ किलो सुन प्रकरण भनेर पनि परिचित भयो । सुन भरिया सनम शाक्यको मोरङको पोखरियामा सन् २ मार्च २०१८ मा ज्यान लिइएपश्चात ३३.५ किलो सुनको गैरकानूनी तस्करीको सूत्र खुलेको थियो ।

उक्त सुनको तस्करीका प्रमुख योजनाकार चुडामणि उप्रेती ‘गोरे’ नै रहेका थिए । गोरेलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

यस प्रकरणमा ३० जना भन्दा बढी व्यक्तिहरूको संग्लनता रहेको बताइएको थियो ।

यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । यो प्रकरणमा फरार रहेका २१ जनाको मुद्दा चाहिँ मुल्तबीमा राखिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिनुभयो ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल हुनुहुन्छ ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाउनुभएको छ ।

दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले भरिया सनम शाक्यको ज्यान लिएको अभियोग पुष्टि भएको छ ।

सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।

त्यसबेला अनुसन्धानकर्ता नै आरोपित बनाएको भन्दै सरकारी छानविन समितिको आलोचना समेत भएको थियो । प्रकरणमा जोडिएका अन्य प्रहरी अधिकारीले चाहिँ गोरेको समूहलाई सहयोग गरेको सरकारी छानविनको निष्कर्ष थियो ।

सो मुद्दामा जिल्ला अदालत मोरङले गोरे भनिने चुडामणि उप्रेतीलाई जन्मकैदको सजाय सुनाएको हो । मंगलबार जिल्ला अदालत मोरङले गोरेसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु