काठमाडौं । आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा श्रीमान समेत २ जना पक्राउ परेका छन् ।

आफ्नै श्रीमतीलाई भारतमा लगेर बेचबिखन गरेको अभियोगमा उनकै श्रीमान र नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ बस्ने पासाङ तामाङलाई गत बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको खुलेको छ ।

त्यसपछि पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको, महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको आरोप पनि लगाइएको छ ।

भिनाजु पर्ने ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएका थिँए । म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको धन्दाघरमा ८ महिनासम्म बलपूर्वक धन्दामा लगाएको, पुनस् म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखेको जानकारी दिइएको छ ।

नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा गत जेठ ३१ गते पीडित नेपाल फर्कन सफल भएकी थिइन् ।

पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

सम्बन्धित खबरहरु