काठमाडौं । एक विशाल विमान सडकमा अड्किएको छ । भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि एयर इन्डियाको विमान अड्किएको हो ।

त्यसको तस्विर/भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । विक्रि गरिएको विमानलाई किनेर लैजाने क्रममा पुलमुनि अड्किएको आशंका गरिएको छ ।

रातको समयमा खिचिएको सो भिडियोमा पंखा झिकिएको विमानमुनि सवारीसाधन गुडेको देख्न सकिन्छ । दिल्लीका एक सञ्चारकर्मीले सामाजिक सञ्जाल ट्विटरमा राखेपछि सो भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विक्रि भइसकेको सो विमानसँग कम्पनीको कुनै सरोकार नभएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो एयर इन्डियाको दर्ता नभएको विमानको कप्टेरो हो, जसलाई कबाडीमा बिक्री गरिएको थियो । किन्ने पक्षले गत राती त्यसलाई लगेका थिए ।

जुनसुकै अवस्थामा भए पनि त्यसबारे एयर इन्डियाको कुनै सरोकार छैन ।’ दिल्ली विमानस्थलका अधिकारीहरुले सो विमान दिल्ली विमानस्थलमा नभएको पुष्टि गरेको भारतीय समाचार माध्यमहरुले जानकारी दिएका छन् ।

विमान लैजानले क्रममा चालकका लापरबाहीका कारण पुलमुनि अड्किएको हुन सक्ने अधिकारीहरुले बताएका छन् । हालै भारत सरकारले टाटा ग्रुपलाई एयर इन्डियालाई बेचेको थियो ।

सम्बन्धित खबरहरु