काठमाडौं । प्रदेश २ सभाको अहिले सातौ अधिवेशन सुरु भएको छ । सो सभामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सरकारले विश्वासको मत लिइदैछ ।

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सातौ अधिबेशन आह्वान गर्नु भएको थियो ।

प्रदेश २ सरकारमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सहभागी छन भने माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले (एकीकृत समाजवादी) समेतले सरकारलाई समर्थन जनाइसकेको छ । यसले गर्दा सरकार स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित छ ।

प्रदेश सभामा कूल १०४ सभा सदस्यमध्ये जनता समाजवादी पार्टीका ३९, नेपाली काँग्रेस पार्टीका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का १३, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका आठ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सभा सदस्य छन ।

प्रदेश सभामा प्रत्यक्षबाट पुरुष ५७, महिला चार गरी ६१ र समानुपातिकबाट पुरुष १० र महिला ३३ गरी ४३ जना निर्वाचित भएका हुन । प्रदेश सभामा सात वटा संसदीय दलहरु छन ।

सो सभामा विषेश सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा सरकारलाई बदनाम गराउन गरेको बताउनु भएकोछ ।

सम्बन्धित खबरहरु