काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत जुराएको छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजे अघि योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे परेको छ । हरेक सरकारी कार्यालयमा यसदिन झण्डा फेरिनेछ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ ।

असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गरिने र यात्राको साइत बिहान ७ः११ बजे रहेको छ ।

तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ ।

असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । यस वर्षको विजयादशमीको टीकाको शुभ साइत १० बजेर २ मीनेटमा रहेको छ ।

समितिले घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने पनि जनाइएको छ ।

विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

सम्बन्धित खबरहरु