जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको मत सहित संसदमा उच्च समर्थन पाउनुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत माग्नुभएको थियो ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो ।

राउतलाई उहाँकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिनुभयो ।

उहाँको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएको देखिन्छ । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिनुभएको थियो ।

सम्बन्धित खबरहरु