काठमाडौं । मासु व्यवसायीहरुका लागि दसैँमा खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरिएको छ । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको हो ।

आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार रुपैयाँ, बोसो राखिएकाको एक हजार २०० रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)०को मूल्य एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको हो ।

यस्तै कुखुराको मासु प्रतिकिलो ३०० रुपैयाँ तथा रागाँ र बङ्गुरको मासु पाँच–पाँच सय रुपैयाँ तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो ।

सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताउनुभयो । अन्य समयको तुलनामा दशैँमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ ।

खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दसैँको अवधिमा कुनै परिवर्तन हुनेछैन । यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।

मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो ।

चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढ्ने बताउनुभयो । चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् ।

सङ्घका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७०० देखि ८०० रूपैयाँ र मासु दुई हजार रूपैयाँसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ । मासु झण्डै ३ हजार ५ सयसम्म पुर्याउने देखिन्छ ।

नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताउनुभयो । उहाँले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दसैँका लागि मासुको अभाव नहुने जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार गत वर्षको तुलनामा यसवर्ष झन्डै दोब्बरले मूल्य बढेपछि व्यवसायीले च्याङ्ग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौं उपत्यकामा सात हजार च्याङ्ग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ ।

 

सम्बन्धित खबरहरु