काठमाडौं । साफ च्याम्पियनसिपमा भारतले आज श्रीलंकासँग गोलरहित बराबरी खेलेको छ । यो सँगै नेपालको फाइनल यात्रा सहज हुने देखिएको छ । नेपालसँग खेल्नुअघि सबैभन्दा सफल मानिएको भारत लगातार दोस्रो बराबरीमा अड्किएको हो ।

भारतले पहिलो खेल बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । बिहीबार श्रीलंकासँग भएको दोस्रो खेल पनि गोलरहित बराबरीमा रोकियो । यो सँगै सात पटकको विजेता भारतले दुई खेलबाट दुई अंक जोड्न सक्यो ।

अर्कोतिर नेपाल भने दुई खेलबाट ६ अंक जोडेर शिर्ष स्थानमा उक्लेको छ । श्रीलंका पहिलो खेलमा बंगालदेश र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन् ।

राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने भएका छन् । भारतले अब नेपाल र आयोजक माल्दिभ्स खेल्न बाँकी छ ।

भारतलाई फाइनलमा स्थान बनाउनका लागि बाँकी खेल जित्नै पर्ने दबाब छ । साथै, अन्य खेलको नतिजा पनि उस्को पक्षमा आउनुपर्छ । नेपालले अब बंगलादेश र भारतविरुद्ध खेल्नेछ ।

आजै दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । बंगलादेशले दुई खेलबाट चार अङ्क जोडेको छ भने माल्दिभ्स पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको थियो ।

सम्बन्धित खबरहरु