काठमाडौ । नेपालको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा यो एउटा घटनाले नै पुष्टी गर्दछ ।

अहिलेपनि कयौँ नक्कली चिकित्सकहरुले स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने प्रमाण हो यो । कक्षा ८ मात्र पढेको व्यक्तिले डाक्टर बनेर सेवा दिँदा कस्तो सेवा दिइरहेका होलान् ।

जो कोहीले सजिलै अनुमान लगाउन सक्छौ । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी नजिकै यस्तै भएको छ ।

त्यहाँको सरकारी स्वास्थ्य चौकीमा बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको एउटा नीजि मेडिकलमा जाँच गराउन पालो पर्खिनुपर्छ।

मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो।

यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’ उनले धमाधम औषधि लेखिरहेका थिए । केहीलाई विभिन्न ल्याव परीक्षणको पूर्जी दिइरहेका थिए ।

बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। डाक्टर साव अब म बाँच्छु होला हैन । कत्रो भरोसाले एक बिरामीले उनलाई सोधिरहेका थिए ।

उनी निर्धक्क भएर भनिरहेका थिए म कहाँ आएपनि निको नबनाई पठाउँदिन । यही ढाडस धेरै पहिलेदेखि धेरैलाई दिए । यसैले हज्जारौ मानिसलाई जाँच गर्न भ्याए ।

अचम्मको कुरा त के छ भने उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे।

तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम गरेँ। त्यहाँ सरहरूले सिकाएर बिरामी जाँच्न जानेको हुँ। मैले जाँचेर धेरैलाई ठीक बनाएको छु।’ मैले लेखेको औषधि ठूला डाक्टरको भन्दा कम छैन भन्दै धमास लगाइरहेको सुन्न सकिन्थ्यो । दुर्गमको यो बाध्यता हो ।

स्वास्थ्य चौकीमा लामो समय काम गरेको आधारमा आफूलाई अनुभव भएको उनको दावी छ । निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी निको पार्ने उनी ठोकुवा नै गर्छन् ।

‘रुघाखोकी, ज्वरो, निमोनिया, पखालाको उपचार मैले गर्छु। यो बाहेकका बिरामीलाई मैले सकिनँ भने सरलाई बोलाउने अनि उहाँहरूले रिफर गर्दिनुहुन्छ’, उनले भने, ‘हामी पालैपालो आएर चलाउँछौं। अहिले स्वास्थ्य चौकीमा दुई जना मात्रै भएकाले मलाई पठाउनुभएको हो।’

खासमा उनको काम बिहान स्वास्थ्यचौकी खोल्ने, सरसफाइ गर्ने र पानी भर्ने हो। त्यसपछि अर्को ड्युटी रहेछ, मेडिकलमा गएर बिरामी जाँच्ने। स्वास्थ्य चौकीकै कर्मचारीले उनलाई त्यता पठाउँछन्। सुन्दा पत्यार नै नलाग्ने यो वास्तविकता हो । हामी त्यहाँ पुग्दा अनौठो दृष्य देख्यौँ ।

मेडिकलमा बिरामी आएको खबर आउनासाथ उनी दौडिहाल्छन्। जँचाउन पुग्नेहरूलाई उनी डाक्टर हुन् कि पियन भन्ने थाहा हुँदैन। बिरामीसँग सोधपुछ गरेर अनुमानका भरमा औषधि दिन्छन्। औषधीको पूर्जी लिएर बिरामी जान्छन् । यो यहाँको मात्र बाध्यता हैन नेपालका अधिकांश दुर्गम बस्तीमा यस्ता दृष्य कयौँ छन् ।

सम्बन्धित खबरहरु