वीरगञ्ज । वीरगञ्जमा दाहसंस्कार गर्न खाल्डोमा राखिएकी युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेकोले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । तर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँका परिवारका एक सदस्य पनि प्रहरी नियन्त्रणमा छन् । त्यहाँ उनीहरुको संलग्नता रहेको आशंका गरिएको छ ।

जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव लुकाउन खोजेको भन्ने सूचनाको आधारमा शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

‘शंकास्पद हर्कत भइरहेको सूचना पायौं । शव जमिनमा लुकाउन लागेको बेलामा गएर ल्याएका छौं’ उहाँले भन्नुभयो ‘शव परीक्षणका लागि पठाएका छौं । थप अनुसन्धान भइरहेको छ ।’

परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन् । भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ । उनीहरुले पिडकबाट पैसा लिएर घटना लुकाएको प्रहरीको आशंका रहेको छ ।

 

सम्बन्धित खबरहरु