काठमाडौं । बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो ।

बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको छ ।

यो निर्णय अक्टोवर ११ गते बिहान चार बजेदेखि लागू हुनेछ । बेलायतको रातो सूचीमा अब पानामा, पेरु, इक्वेडोर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।

रातो सूचिबाट हटेपछि कोभिड खोपको दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् ।

रातो सूचिमा रहंदा बेलायती नागरिक वा बेलायतमा बसोवासको अधिकार पाएकालाई मात्र खुला राखिएकोमा अब पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् ।

रातो सूचिमा रहदा बेलायतको सरकारले तोकिदिएको होटलमा दश दिन क्वारेन्टाइन बस्नुपर्ने नियम थियो । होटलमा बसेबापत प्रतिव्यतिm दुई हजार २८५ पाउण्ड तिर्नुपर्ने वाध्यता थियो ।

रातो सूचिबाट हटेसँगै विद्यार्थीलाई मात्र होइन दशैँमा नेपाल जान खोज्नेलाई पनि ठूलो राहत मिलेको छ । रातो सूचिबाट हटने निर्णय सुनेसँगै आफुले नेपाल जाने टिकट बुक गरेको लण्डन बस्ने उषा गौतमले बताउनुभयो ।

इङ्ल्याण्ड आउनु १४ दिनअघि अक्सफोर्ड÷अष्ट्राजेनिका,फाइजर बायोटेक,मोर्डना वा जोन्सनको पूर्ण खोप लगाएको हुनुपर्नेछ ।

अष्ट्राजेनिकाको कोभिशिल्ड,अष्ट्राजेनिका भ्याक्सजेभ्रिया,मोर्डना खोप लगाएकालाई पनि मान्यता दिइने बेलायतको यातायात विभागले जनाएको छ ।

त्यसबाहेकको खोप लगाएकाले बेलायत आएपछि पनि दश दिन होम क्वारेण्टाइनमा बस्नुपर्नेछ । सो क्रममा दोस्रो दिन र आठौँ दिन कोभिड परिक्षण गराउनुपर्ने छ ।

सम्बन्धित खबरहरु