काठमाडौं । आज सत्ता गठबन्धनको सरकार विस्तार हुँदै छ । यो बीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटक नयाँ उपाय लगाउनु भएको छ ।

यसअघि निकै भरोसा गरेकाहरुले धोका दिएको भन्दै आक्रोश पोख्ने गर्नुभएका प्रचण्डले यस पटक नयाँ तरिका अपनाउनु भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले आफूले विश्वास गरेर मन्त्री बनाएकाहरु नै गद्दार निस्केको बताउने गर्नुभएको छ । संयोगवश यसअघि मन्त्री बनेर साथ छोड्ने सबै पुरुष नै छन् ।

नेकपा विवाद हुँदा उहाँको साथ छाड्नेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह रहनु भएको छ । प्रचण्डकै जोडबलले मन्त्री बनेकाहरुले अन्त्यमा प्रचण्डको साथ छोडेका हुन् ।

मणि थापा पनि प्रचण्डले माओवादीमा महत्वपूर्ण स्थान दिएकामध्ये पर्नुहुन्छ । उहाँले पनि साथ छोड्नुभयो । तर, असजिलो अवस्थामा प्रचण्डले महिला नेताहरुले भने साथ छाडेका छैनन् ।

यसकारण पनि अध्यक्ष प्रचण्ड महिलाप्रति बढी विश्वस्त हुन थालेको बताइन्छ । प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा पहिलो चरणमै पम्फा भुसाललाई पठाउनु भएको थियो ।

दोस्रो चरणमा ३ मन्त्री र एक राज्यमन्त्री पठाउन लागेकोमा एक मन्त्री र एक राज्यमन्त्री महिला छन् । शशि श्रेष्ठ र बोधमाया कुमारी यादव पनि रहनु भएको छ ।

यसरी माओवादीबाट सरकारमा सबैभन्दा बढी ३ जना महिला जाँदैछन् । माओवादीले कुल ५ मन्त्री र १ राज्यमन्त्री पठाउन लागेको छ ।

सम्बन्धित खबरहरु