काठमाडौं । लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । सत्ता साझेदार दलहरुलाई बिहान ११ बजेसम्म मन्त्री बन्नेको नाम बुझाउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । बालुवाटार स्रोतका अनुसार आजै दिउँसो ४ बजे मन्त्रीहरुको सपथग्रहण हुनेछ ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफूले पाउने मन्त्रालय र संख्या टुंग्याइसकेका छन् ।

प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ हुनुहुन्छ ।

कांग्रेसबाट प्रधानमन्त्रीसहित पाँचजना मन्त्री भइसकेकाले बाँकी ३ मन्त्रालयमा कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, उमाकान्त चौधरी, पुष्पा भुसालमध्ये मन्त्री हुने सम्भावना रहेको छ ।

कांग्रेसले स्वास्थ्य छाडेर सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने बताएको छ । अर्को साझेदार माओवादी केन्द्रले पनि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाललाई मन्त्री बनाइसकेको छ ।

केन्द्रले अब देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने जनाएको हो । माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय लिनेछ ।

एकीकृत समाजवादीबाट विरोध खतिवडालाई शहरी विकास, रामकुमारी झाँक्रीलाई स्वास्थ्य, प्रेम आलेलाई पर्यटन र किसान श्रेष्ठ श्रम तथा रोजगार मन्त्री बनाउने निर्णय भएको छ ।

समाजवादीले भवानी खापुङलाई राज्यमन्त्री बनाउँदै छ । अर्कोतिर जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्रकुमार सिंह, मोहम्मद इस्तियाक राई, रेणु यादव हुनुहुन्छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने छ ।

सम्बन्धित खबरहरु