काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुग्नु भएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भइरहेको बताउनुभयो ।

शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहनुभएको प्रधानमन्त्री देउवा शुक्रबार राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।

तर, यो भेटघाट नियमित भएको स्वकीय सचिव अधिकारीले बताउनुभयो । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथका बारेमा छलफल भएको जानकारी दिइएको छ । अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने प्रश्न सबैको मनमा उठेको छ ।

त्यसअघि परराष्ट्रमन्त्रीका रुपमा सपथ खानु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्काको सन्दर्भमा पनि विवाद सिर्जना भएको थियो ।

सोही कुरालाई मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबीच आज छलफल भएको राष्ट्रपति निकट स्रोतले उल्लेख गरेको छ ।

अध्यादेश खारेज भैसकेको छ । अर्को कानुन बनिसकेको छैन । त्यसैले परम्पराअनुसार नै सपथ गराइने तयारी भइरहेको छ । कहिलेकाहीँ परम्परा पनि कानुनअनुसार लागू हुन्छ ।

शीतल निवास पुगे पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्तिको सूची भने राष्ट्रपतिलाई नबुझाइ फिर्ता हुनुभयो ।

गठबन्धन भित्रकै दलहरुले मन्त्री बन्नेको सूची नबुझाएकाले प्रधानमन्त्री शीतल निवासमा पुगे पनि मन्त्रीको सूची नबुझाइ फर्किनु भएको हो ।

सम्बन्धित खबरहरु