काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको माग पुरा भएको छ ।

अध्यक्ष ओलीले गत २६ साउनमा प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गर्नुभएको अनुरोध पुरा भएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई हात जोड्दै ‘सम्मानीयज्यू, मेरा पार्टीका केही मान्छेहरु केही पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू । मन्त्री दिनुस् न । किन विलम्ब गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् ।

विचराहरू ! मन्त्री खानका लागि प्लिज । पछिपछि कुदेका छन्, मन्त्री खान पाउँ भनेका छन् । चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनस् । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझौँला ।’ अध्यक्ष ओलीले कटाक्ष गर्दै यो बयान दिएको दुई महिना हुन लाग्यो ।

बल्ल आज उहाँले भनेका मान्छेहरु मन्त्री बन्ने पक्का भयो । अध्यक्ष ओलीले यस्तो भनिरहँदा माधवकुमार नेपाल एमालेमै हुनुहुन्थ्यो । नेपालसहितका सांसदहरु विद्रोहको तयारीमा थिए ।

नेपाल समुह अहिले एमालेबाट फुटेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बनेको छ । एकीकृत समाजवादीले विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई मन्त्री बनाउने पक्का भएको हो ।

प्रेम आले र भवानी खापुङ मध्येबाट एक जना मन्त्री बन्ने बुझिएको छ । यसरी झण्डै दुई महिना पहिले अध्यक्ष ओलीले हात जोडेर व्यङ्ग्य गर्दै मन्त्री बनाइदिन गरेको विन्ती आज पूरा हुने भएको हो ।

सम्बन्धित खबरहरु