काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नु भएको छ ।

माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा आज आयोजना गरेको भक्तपुर बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समयमा हरेक पार्टीको समस्यासमेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनु भएको हो ।

उहाँले अबको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्दै भन्नुभयो, “गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहिले अरु पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्दा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, हाम्रो पार्टी फेरि पनि एक नम्बरमा आउँछ ।”

अध्यक्ष प्रचण्डले अरु पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र साङ्गठानिकरुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको भन्दै उहाँले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको जनताले फेरी बुझेको बताउनुभयो । उहाँले भक्तपुरबाट संशोधनवादीलाई लखेट्नुपर्छ भन्दै त्यस्ता तत्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्छ भन्नुभयो ।

सम्बन्धित खबरहरु