काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको स्वीकार गर्नुभएको छ ।

शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले माफी चाहान्छु यो गठबन्धनको सरकार हो सबैको चित्त बुझाउनुपर्ने थियो भन्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।’

प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताउनुभयो । शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले बिपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाशन गरिएकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा संविधानविद् तथा बीपीबारे अध्येता बिपीन अधिकारीले आफ्नो धारणा राख्नुभएको थियो ।

आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिनुभयो ।

यसक्रममा नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ भने सत्तारुढ दलका अन्य घटकभित्र पनि असन्तुष्टि बढेको छ । बीरगञ्जमा जसपाका कार्यकर्ताहरुले पार्टी नेतृत्वविरुद्ध प्रदर्शनसमेत गरेका छन् ।

मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका काँग्रेस नेता एवं प्रधानन्यायाधीशका आफन्त गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवामाथि आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद विस्तारपछि उत्पन्न असन्तुष्टि र आलोचनालाई सम्वोधन गर्ने प्रयास गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा सबैलाई समेटेर अघि बढ्ने बचन दिनुभयो । यद्यपि देउवाले सांसद पदमा नरहेका गजेन्द्र हमाललाई मन्त्री बनाउनुपर्ने कारणबारे भने केही पनि बोल्नुभएन ।

सम्बन्धित खबरहरु