चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरसांसदबाट मन्त्री बन्नुभएका गजेन्द्र हमालको बचाउ गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसको कोटाबाट मन्त्री बन्नुभएका उहाँ कांग्रेसी भएको बताउनुभयो ।

सांसदसमेत नरहनुभएका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएपछि उहाँसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा जोडिनुभएको छ ।

हमाललाई जबराको कोटाबाट मन्त्री बनाइएको र अदालतपनि सत्ता साझेदार भएको हल्ला चलाइएको छ ।

सत्ता साझोदार दलहरुलेपनि अदालतलाई प्रभावमा पार्न प्रधानन्यायाधीशलाई सरकारमा नै भाग दिएको टिप्पणी सर्वत्र छ ।

हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान पर्नुहुन्छ । उहाँ राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुग्नुभएका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गर्नुभयो ।

हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री भएको भन्ने कुरा गलत भएको उहाँको दावी छ । र, सांसद नभएका व्यक्ति मन्त्री हुनु नयाँ कुरा नभएको उहाँको भनाई छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने खुलासा गर्नुभयो ।

सम्बन्धित खबरहरु