काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समय आएपछि मात्रै निर्वाचन हुने बताउनुभएको छ ।

उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उहाँले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताउनुभएको हो ।

“सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो ।

हिजोदेखि दुर्घटना ट¥यो,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु । सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।”

देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उहाँले जोड दिनुभयोे, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ ।”

अध्यक्ष दाहालले भन्नुभयो, “तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ । यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।”

निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उहाँले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिनुभयो ।

कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।

उहाँले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि रु पाँच करोड बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताउनुभयो ।

सम्बन्धित खबरहरु