काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव नजिक लालपूर्जा वितरण गर्ने दाबी गर्नुभएको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएकाले चाँडै यो काम गर्ने बताउनुभयो ।
उहाँले अघि भन्नुभयो, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।’ भोट हामीलाई दिनुपर्छ ।
ओली सरकारले बनाएको भूमि आयोग विघटन गरेर देउवा सरकारले नयाँ आयोग बनाएको छ । माओवादी केन्द्रको भागमा परेको भूमि व्यवस्था मन्त्रालयमा शशी श्रेष्ठ मन्त्री बन्नुभएको छ ।
यही कामको जस लिन भूमि व्यवस्था मन्त्रालय रोजेको अध्यक्ष दाहालको भनाईबाट प्रमाणित हुन्थ्यो ।
कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्याउने चेतावनी समेत दिनुभयो ।
आगोसँग खेलेका कारण बालुवाटारबाट बाटकोट पुगेको र प्रदेश सरकारहरु पनि गुमाएको भन्दै उहाँले भन्नुभयो, ‘२–४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि जानेछ ।’
सत्तारुढ गठबन्धनमा फाटो ल्याउने प्रयास अब असफल भएको दाबी अध्यक्ष प्रचण्डको थियो ।