काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवको दावीमा नरहेको स्पष्ट पार्नुभएको छ ।

आइतबार सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताउनुभएको हो ।

‘म दुईपटक एमालेको महासचिव भइसकेँ, तपाईंहरुलाई स्पष्ट भन्छु–अब म महासचिवमा दोहोरिन्न’, पोखरेलको भनाइ छ । उहाँले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै नेतृत्व लिन सक्षम रहेको बताउनुभयो ।

उहाँले एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पार्दै पार्टीपंक्तिको सुझबुझमा उपल्लो नेतृत्वमा रहने विचार राख्नुभयो ।

महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने ? भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहानुभएन ।

पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गर्नुभयो ।

नेकपा एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताउनुभयो ।

उहाँले निर्वाचनको घोषणापत्रमा एमालेले गरेको प्रतिवद्धता र त्यसमा आधारित सरकार गठन भइसकेपछि ल्याएको नीति तथा कार्यक्रममा जुन प्रतिवद्धता व्यक्त गरेका हौं त्यसमा हामीले गरेका कामहरुको रेटिङ गरिदिनुस् भनेर पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

यसबारे यहाँहरुले वस्तुनिष्ट समीक्षा गरेर यिनीहरुले यस्तो भनेका थिए– तर यो गरे यो गरेनन् भनेर घटाई बढाई नगरी जस्ताको तस्तै जनताको बीचमा ल्याइदिन आग्रह गर्नुभयो ।

जहाँसम्म हामी सत्तापक्षबाट प्रमुख प्रतिपक्षको हैसियतमा रहेको प्रसंगमा राष्ट्र र जनताको हितको सवालमा दवाबमुलक कार्यक्रम गर्नेछौ । त्यो काम गर्दा लोकतान्त्रिक ढंगबाटै त्यस्ता कार्यक्रम गर्छौ, लोकतान्त्रिक मूल्यमान्यता विपरित त्यस्ता काम पनि गर्दैनौँ उहाँले भन्नुभयो ।

जहाँसम्म सम्मानित सर्वोच्च अदालतको कुरा हो, हामी यसलाई यही हिसाबले सम्बोधन गर्छौ । के–के मञ्चन हुँदैछ देखिरहनुभएको छ, विश्लेषण गरिरहनुभएको छ ।

तर म के भन्न चाहान्छु भने अदालतले राजनीति गर्ने होइन अदालत अदालत जस्तै हुनुपर्यो । अदालत संविधानअनुरुप र राजनीतिक दलसम्बन्धी कानुनलाई हेक्का राखेर चल्नुपर्यो । तर त्यस्तो भइरहेको छ कि छैन तपाईहरु आफै हेर्नुस् पोखरेलले भन्नुभयो ।

हिजो हामी सेटिङका कुरा सुन्थ्यौ, तर आज अनेक काण्ड भैरहेका छन् यी सबैमा जनतालाई जानकारी दिने हिसाबले कलम चलाउनुहुनेछ भन्ने म यहाँहरुसँग आग्रह गर्छु ।

म घटना विशेषमा जान चाहान्न । तर सरकार यसको नेतृत्वमा बनाउ भनेर परमादेश जारी गर्ने अदालत के कुरामा संलग्न छ र कस्ता कस्ता निर्णय गर्दैछ भन्ने कुरा हेरिरहेका छौ, त्यो विश्लेषण र विवेचना गरेर जनतामा पुर्याउनुहुनेनै छ भन्ने अपेक्षा गर्दछु महासचिव पोखरेलले पत्रकार समक्ष भन्नुभएको थियो ।

सम्बन्धित खबरहरु