काठमाडौ । कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता कांग्रेसले चाहेर नआएको खुलासा गर्नुभएको छ । उहाँले त्यसलाई विस्थापित गर्न आफूले नै नेतृत्व लिन सक्ने दावी समेत गर्नुभयो ।

राष्ट्रिय दैनिक कान्तिपुरसँगको एक अन्तर्वार्तामा महामन्त्री कोइरालाले भन्नुभयो ‘धर्मनिरपेक्षता भनेर हामीले ल्याएका थिएनौं । कहाँबाट घुसाइयो । यही कुरा मैले सुशील दालाई पनि भनेको थिएँ ।

उहाँले पनि पछि परिवर्तन गर्नुपर्छ, अहिले नबोल भन्नुहुन्थ्यो । बीपीले पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्नुहुन्थ्यो ।’

कोइरालाले अघिल्लो महासमिति बैठकमा उठेको धर्म निरपेक्षता खारेजीको एजेण्डा यस महाधिवेशनमा झन् जोडतोडका साथ उठ्ने बताउनुभयो । धर्म निरपेक्षता खारेजीबारे आवश्यक परे आफैँले नेतृत्व लिन तयार रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘दुई वर्षअघि सम्पन्न महासमिति बैठकमै सात सय सदस्यले धर्मनिरपेक्षता खारेज गर्नुपर्छ भनेर हस्ताक्षर बुझाएका थिए। यस पटक झन् तीव्र गतिमा उठ्ने म देख्छु। त्यसलाई मैले नै उठाउँछु। आवश्यक परे मै नेतृत्व लिन्छु।’

कोइरालाले संविधानमा धार्मिक स्वतन्त्रता राख्न संविधान संशोधन या जनमत संग्रह गर्न सकिने उपाए औलयाउनुभयो ।

फरक प्रसंगमा कोइरालाले अब कांग्रेसलाई नेतृत्व र गति दिन सक्ने आफूमात्र भएको दाबी गर्नुभयो । प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले पार्टी चलाउन नसकेको भए पनि उहाँलाई हराउन कठिन रहेको उहाँको भनाई छ ।

अहिले कांग्रेस भित्र देउवालाई हराउन सक्ने उम्मेदवार आफू बाहेक कोहि नभएको पनि उहाँको तर्क छ ।

कोइरालाले आगामी निर्वाचनमा गठबन्धन बन्ने सम्भावनालाई इन्कार गर्नुभएको छ । कांग्रेस एक्लै चुनावमा होमिने पनि स्पष्ट पार्नुभएको छ। ‘चुनावी गठबन्धन सम्भावना छैन । प्रचण्डको भविष्य त तालमेलमै निर्भर छ ।

उहाँको ठाउँबाट तालमेलको कुरा सोच्नु ठीक हो तर कांग्रेसले निर्वाचनमा कोहीसँग तालमेल गर्दैन भन्ने प्रस्ट छ ,’ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु