काठमाडौ । नेपाली चिकित्सकहरुको अब्बलता दिनप्रतिदिन देखिदै आएको छ । पैसा भएकाहरु नेपाली चिकित्सकलाई विश्वास नगरेर विदेशी भूमिमा पुग्छन् तर विदेशमा समेत हुन नसकेका जटिल शल्यक्रियाहरु नेपालमा भइरहेका छन् ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकहरुले यस्तै प्रकृतीको जटिल शल्यक्रिया गर्न सफल हुनुभएको छ । १४ दिनको नवजात शिशुको ‘दुर्लभ’ शल्यक्रिया गरिएको अस्पताल र पारिवारीक श्रोतले जनाएको छ ।

नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको सो अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार सिनामंगल गैरीगाउँका सरस्वती तामाङबाट जन्मिएको बच्चामा जन्मजात हर्निया देखिएको थियो।

चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘डायफ्राम’ मांसपेशीमा प्वाल थियो। उहाँहरूका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेटभित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमासय र फियो छातीमा पुगेको थियो। अंगहरु छिन्नभिन्न थिए ।

जसका कारण बच्चालाई श्वास फेर्न गाह्रो भएको थियो। सामान्यतया ३७ हप्तामा बच्चा जन्मिने भए पनि सरस्वतीले ३५ हप्तामै छोरालाई जन्म दिनुभयो ।

थापाथलीको प्रसूति अस्पतालमा नर्मल डेलिभरी भएको सो बच्चालाई रेफर गरेर केएमसी पठाइएको थियो।

केएमसीका बाल तथा नवजात शिशु सर्जन डा. आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।

‘डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमासय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याएर प्वाल टालेका छौं,’ डा. श्रेष्ठले भन्नुभयो, ‘यो निकै जटिल र दुर्लभ समस्या हो। अप्रेसन सफल भयो, अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो छ।’

यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भएर बच्चाको ज्यान जाने चिकित्सकको भनाई छ । तर, अप्रेसन सफल भएर जोखिम टरेको उहाँको दावी छ ।

अप्रेसनपछि नवजात शिशु विशेषज्ञ मानन्धरको प्रत्यक्ष निगरानीमा बच्चालाई दुई हप्ता अस्पतालमा राखिएको थियो। उहाँको स्वास्थ्य अवस्था सामान्य बनेपछि शुक्रबार डिस्चार्ज गरिएको छ।

सम्बन्धित खबरहरु