काठमाडौं । मानिस पासोलागी मरेको डोरी महंगोमा विक्री हुन्छ भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले यसको पुष्टि गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारेका २० वर्षीय सुमन मगर र उनकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझी रहेका छन् । उनीहरू ललितपुर महानगरपालिका–२८ हरिसिद्धि नयाँबजार बस्दै आएका थिँए ।

उनीहरुमाथि नुवाकोटको बेलकोटगढी–९ बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको आरोप लागेको छ । उनीहरुले तामाङको डोरीले घाँटीमा कसेर हत्या गरेका थिँए । गत साउन २५ गते बिहान साढे ६ बजे सुनाकोठीस्थित डेरामा कमलाको शव फेला परेको थियो ।

महानगरीय प्रहरी वृत चापागाउँ, ललितपुर तथा महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । कमला मृत अवस्थामा फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौंमा विक्रि हुने कुरा सुनेको स्विकार गरेका थिँए ।

अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमन मगरको पुर्व चिनजान एवं अवैध सम्बन्ध हुने गरेकी, टहरामा एक्लै बस्ने कमला तामाङलाई गत साउन २४ गते मारेका थिँए । उनीहरुले कमलाको टहरामा गई खानपिन (मापसे) गरी सुत्ने समयमा हात बाँधेर घाँटी डोरीले कसेर हत्या गरेका हुन् ।

हत्या पश्चात कानमा लगाएको गहना र मोबाइल समेत लुटेर उनीहरु फरार भएका थिँए । प्रहरीले थप अनुसन्धानको लागी उनीहरुलाई महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाएको छ ।

सम्बन्धित खबरहरु