काठमाडौ । हाँस्य कलाकार मनोज गजुरेलले जोडी बाँन्धनुभएको छ । उहाँले आज विवाह गर्नुभएको हो ।

मञ्जु पोखरेलसँग विवाह गरेको मनोजले जानकारी गराउनुभएको छ । आज (सोमबार) बिहान डोलेश्वर महादेव पुगेर परिवारको उपस्थितिमा विवाह गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले जीवन सधैं सरल रेखामा नहिंड्ने भन्दै पहिलो विवाह बन्धन टुटेको चार वर्षपछि पुनः विवाह गरेको स्पष्ट पार्नुभएको छ । ‘लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनीरुपमा टुङ्गिएको कुरा यहाँहरुलाई विदितै छ ।

त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘जीवन यात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु पनि जरुरी थियो ।

यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबु–नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।’

पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुनुहुन्छ । ‘पोखरेलजीसँग चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्ठता बढ्न थाल्यो ।

एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्‍यौं’, उहाँले लेख्नुभएको छ, ‘अगाडि आईपर्ने सुख दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं ।

हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबु नानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्‍यो ।’

विवाहको जानकारीपछि गजुरेल दम्पतिका धेरै तस्वीरहरु बाहिर आएका छन् । हरेक तस्विरमा गजुरेल खुशीलाई रोक्न सक्नुभएको छैन । उहाँसँग हाँसो मात्र रहेको देखिन्छ ।

सम्बन्धित खबरहरु