काठमाडौ । नेकपा एमालेका सदस्य खिमलाल भट्टराईले पाँच दलीय गठबन्धनको यो सरकारले जनताका कुनै काम गर्न नसक्ने आरोप लगाउनुभएको छ ।

आज (सोमबार) को राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘यो सरकार आएर मामली र ससुराली खुशी भए होला’, उहाँले भन्नुभयो, ‘तर यो सरकारबाट जनताले केही अपेक्षा गरेका छैनन् ।’ उहाँले असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी भएको सर्वोच्च अदालतबाट भएको परमादेशको पनि पोल खुलिसकेको बताउनुभयो ।

‘परमादेश कसरी आयो भन्ने पनि प्रमाणित भएको छ’, उहाँले भन्नुभयो, ‘परमादेश जारी हुनु र सर्वोच्चको फैसला आजको राजनीतिक घटना क्रमले स्पष्ट पारेको छ ।’

उहाँले परमादेशको ढाकछोपका लागि एकजना मन्त्रीले राजीनामा दिएर नहुने बताउनुभयो । ‘अब पोल खुलिसकेको छ । यही नाटकबाट देश चल्छ ?’, उहाँले भन्नुभयो, ‘लोकतन्त्र विस्तारै कमजोर हुँदै गएको छ ।

देश सरकारविहीन अवस्थामा छ । यो सरकारले के गर्छ र माग पनि गर्नु जनताले ?’

उहाँले प्रधानमन्त्री देउवा सुत्ने बाहेक केही काम नगरेको बताउनुभयो । ‘प्रधानमन्त्री देउवा बूढानीलकण्ठबाट बालुवाटार आएर सुत्ने काम गरेका छन्’, उहाँले भन्नुभयो, ‘उनी घरी घरी उठ्छन् अनि हाम्रा राम्रा काम भत्काउँछन् । यो सरकारले न कान सुन्छ, न हेर्न सक्छ न काम नै गर्न सक्छ ।’

सम्बन्धित खबरहरु