काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीले अब एक खेल २७ गते खेल्दैछ । बंगलादेशसँग हुने प्रतिस्पर्धामा राम्रो प्रर्दशन गरेर नेपाल फाइनलमा पुग्नेछ ।

भारतसँग आइतवार पराजित भएसँगै साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा भने थप रोचक बन्न पुगेको छ।

नेपाल साफ च्याम्पियनशिपको फाइनलमा पुग्ने यात्राबाट आठ मिनेट मात्रै टाढा थियो। भारतलाई बराबरीमा मात्र रोकेको थियो भने नेपाल आइतबार नै फाइनलमा जाने थियो ।

खेलको ८२ औँ मिनेटमा नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपाल भारतसँग १–० ले पराजित हुन पुग्यो। र, यसले १३ औँ संस्करणसम्म पुगेको साफ च्याम्पियनशिपमा नेपालको फाइनल पुग्ने यात्रा फेरि केही कठिन बन्नयो ।

अब लिग चरणको अन्तिम दिन माल्दिभ्सका दुई रङ्गशालामा हुने खेलको नतिजाले नेपाल, भारत, माल्दिभ्स र बाङ्ग्लादेशमध्ये कुनै पनि टोली उक्लिने वा कुनै पनि टोली प्रतियोगिताबाट बाहिर हुन सक्नेछ अवस्था छ ।

लिग तालिकामा समान ६ अङ्क भए पनि गोल भिन्नताको आधारमा माल्दिभ्स पहिलो र नेपाल दोस्रो स्थानमा पुगेको छ ।

साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, बाङ्ग्लादेश र श्रीलङ्का गरी पाँच राष्ट्र सहभागी छन्।

सबै टिमले एक अर्कासँग (राउण्ड रोविन लिग) खेलेपछिका शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछन्। बाँकी टोली प्रतियोगिताबाट बाहिरिनेछन्। श्रीलङ्का प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको छ।

अब बुधवार एकै समयमा हुने नेपाल र बाङ्ग्लादेश तथा माल्दिभ्स र भारतबीचको खेलबाट निस्किने नतिजाले दुई टोली छानिने छन्।

छ अङ्कले नेपाल अहिले तालिकाको दोस्रो स्थानमा छ। तर यदि बाङ्ग्लादेशसँगको हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ। यदि खेल बराबरी भएमा भने नेपाल ७ अङ्कका साथ फाइनलमा प्रवेश गर्नेछ, जित्ने टोली ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ।

बाङ्ग्लादेश भने पराजित हुनासाथ प्रतियोगिताबाट बाहिरिनेछ। किनकि उसको अङ्क ४ मात्र छ। हारपछि भारत–माल्दिभ्सको खेलको नतिजाले बाङ्ग्लादेशलाई कुनै असर पर्नेछैन। यदि बाङ्ग्लादेशले नेपाललाई हराएमा ऊ फाइनलमा प्रवेश गर्नेछ।

यता आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा जो पराजित हुन्छ, त्यो टोली प्रतियोगिताबाट बाहिरिनेछ। बराबरी भएमा भारत आउट हुनेछ। ऊसँग अहिले पाँच अङ्क मात्र छ।

माल्दिभ्सको स्थिति पनि उस्तै छ। हारले उसलाई प्रतियोगिताबाटै बाहिर गराउनेछ। नेपाल र बाङ्ग्लादेशबीचको नतिजा जे आए पनि माल्दिभ्सलाई त्यो नतिजाले केही प्रभाव पर्नेछैन, अर्थात् बुधवारको खेल चारैवटा टोलीका लागि गर या मर को अवस्थाको हुनेछ।

नेपाली समय अनुसार साँझ पौने पाँच बजे एकसाथ दुवै खेल हुनेछ। नेपाली प्रशिक्षक अल्मुताइरीले खेलपछिको पत्रकार सम्मेलनमा अब सम्पूर्ण ध्यान बाङ्ग्लादेशसँगको खेलमा केन्द्रित गर्ने बताएका छन्।

सम्बन्धित खबरहरु