काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टी नेता मेटमणी चौधरीको नाम मन्त्रीको लिष्टबाट शुरुमा अगाडी थियो । अन्तिममा आएर हटाईयो । यसको मुख्य कारण चौधरीले अध्यक्ष माधवकुमार नेपाललाई पैसा बुझाउन नसक्नु भएको खुल्न आएको छ ।

नेता मेटमणी चौधरीले आफूसँग पैसा नभएकै कारण मन्त्री बन्न नपाएको बताइरहँदा त्यसलाई पुष्टी गर्ने प्रमाणहरु प्राप्त भएका छन् । त्यसको मुख्य प्रमाण हो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले सार्वजनिक गरेको सम्पति विवरण ।

विशेष गरि कम्युनिष्ट नेताहरुको जीवनशैली विलासी हुने तर पदमा गएपछि सम्पत्ती विवरण देखाउँदा प्राय थोरै देखाउँने र त्यो पनि श्रीमतीको दाइजो भन्दै देखाउँदै आएका छन् तर श्रममन्त्री किसान श्रेष्ठले भने अरबौँको सम्पत्ती विवरण सार्वजनिक गरेपछि पैसावाल मात्र मन्त्री भएको भन्ने एकिन भएको छ ।

मन्त्री बनेको चार दिनमै आफ्नो सम्पत्ती विवरण सार्वजनिक गर्नुभएका श्रेष्ठले काठमाडौमा आफ्नो विशाल वंगालाको अपत्यारिलो विवरण पेश गर्नुभएको छ । मन्त्री श्रेष्ठले आफ्नो घर घडेरीहरुको हालको मूल्य सार्वजनिक नगरी खरिद मूल्य मात्रै सार्वजनिक गरेको देखिएको छ ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । मन्त्री श्रेष्ठले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो ।

उहाँले सर्वाजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको खुलाउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा ९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रामा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा कित्ता नम्बर १ सय आठ, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौं महानगरपालिका वडा नम्बर १ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।

उहाँले आफ्नो दुई घर रहेको उल्लेख गर्नुभएको छ । काठमाडौँ महानगरपालिका ३ मा साढे दुई तलाको घर र काठमाडौँ महानगरपालिका ९ धापासीमा ७ तालको व्यवसायिक घर रहेको विवरणमा उल्लेख छ ।

उहाँले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको विवरण पेश गर्नुभएको छ । २ करोड १७ लाख २४ हजार ४ सय मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा खुलाइएको छ ।

त्यस्तै, उहाँले २० वटा व्यवसायिक कम्पनीहरुमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेका उल्लेख गर्नुभएको छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० मुल्य बराबरको रहेको उहाँले सम्पत्ति विवरणमा खुलाउनुभएको छ ।

त्यस्तै, गरगहनामा विवरणमा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको उल्लेख छ । त्यस्तै उहाँले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलासा गर्नुभएको छ । उहाँले तीन वटा आफ्नो श्रीमतीको पाँच वटा भने आफ्नो रहेको विवरणमा उल्लेख छ ।

उहाँले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बंगलादेश बैंकमा आफ्नो बैक खाता रहेको बताउनुभएको छ । त्यस्तै उनको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको बैंक खाता नम्बरसहित खुलाइएको छ । तर, बैंकमा कति पैसा छ भन्ने कुरा भने खुलाएका छैनन् ।

त्यस्तै उहाँले लिएको ऋण विवरण पनि खुलाइएको छ । उहाँले ग्लोबल आइएमईबाट ४ करोड ९७ लाख ७४ हजार ३ सय ७९ रुपैयाँ ऋण लिएको बताउनुभएको छ । त्यस्तै उहाँले विदेशबाट सापटी लिएको ५२ लाख ७२ हजार ९ सय ५७ रुपैयाँ १५ पैसा, किसान हार्डवेयरबाट २ करोड ५० लाख, नेपाल बंगलादेश बैंक लिमिटेडबाट ५० लाख र आइएमइ कोअपरेटिभ कान्तिपथबाट ६ करोड ऋण लिएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै सवारी साधन विवरणमा उहाँले आफ्नो चार वटा सवारी साधन रहेको जानकारी दिनुभएको छ । उहाँले सार्वजनिक गरेको सवारीसाधन विवरणमा उहाँले आफ्नो नामममा रहेको ४८ लाखको ल्याण्क्रुजर टोयटा प्राडो, ५२ लाख ५६ हजारको मोडल टोयटा आरएभि–४, ३७ लाख मूल्यको निशान र ९५ लाख टोयटा हाइलक्स रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले सार्वजनिक गरेको अन्य सम्पत्ति विवरणमा टिभी एक थान, दराज १, कम्युटर १, ल्यापटप १, टेबल १, फ्रिज १, एसि १, सोफासेट १, रोलेक्श घडी २, मोबाइल सेट १, डायनिङ टेबल १ रहेको उल्लेख छ । नेपालले यस्ता मान्छेलाई मन्त्री बनाउन छोडेर चौधरीको छोरा मेटमणीलाई कसरी बनाउन सक्नुहुन्थ्यो एक निकट श्रोतले बतायो । पैसाको लेनदेन नदेखिने तरिकाले भएको छ । किसान श्रेष्ठ र प्रेम आले पैसाको बिटो बोकेर माधवसँग लाग्नुभएको हो । शुरुमा पार्टी उहाँहरुकै पैसाले चल्यो अब अहिले उहाँहरु कमाउन लाग्नुभएको छ एक नेताले नाम नबताउने शर्तमा खुलाउनुभयो ।

सम्बन्धित खबरहरु