काठमाडौ । तीन दिने मन्त्री गजेन्द्रबहादुर हमालले ४० घण्टा कुर्सीमा बसेर चर्को आलोचना खेप्न नसकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पदबाट राजीनामा दिनुभयो ।

उहाँले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ । शुक्रबार दिउँसो मन्त्री नियुक्त हुनुभएका हमाल सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभयो ।

दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुभएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहनुभयो ।

उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल हुनुहुन्छ । शुक्रबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ पछि छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर साँझ साढे ७ बजे पदभार ग्रहणका लागि हमाल मन्त्रालय पुग्नुभएको थियो ।

मन्त्रालयका दुई जना सचिव, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु तथा मातहतका कार्यालयका प्रमुखहरुले उहाँको स्वागत गर्नुभयो । पदभार ग्रहण गर्दा उहाँले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो ।

पदभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको थियो ।

यो निर्णयले दोश्रो बजारमा कारोबार भइरहेका शिवम् सिमेन्ट, हिमालय डिस्टिलरी, श्रीराम सुगर मिल, युनिलिभर नेपाल, बोट्लर्स नेपाल, नेपाल लुव आयाल लगायतका कम्पनीहरुले उद्योग नविकरण गर्न नपर्ने भएको छ । यो निर्णयले यी कम्पनीमा लगानी भएका लगानीकर्ता मालामाल भएका छन् । ठूलो पूँजी भएकालाई मालामाल गराएर मन्त्री हमाल विदा हुनुभयो ।

शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी हुनुभयो । मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट राजीनामा दिएर बाहिरिनुभयो । तर उहाँको त्यो एक निर्णयको गुन भने अब ठूला पूँजी भएका कम्पनीहरुले तिरिरहने श्रोतको दावी छ ।

 

सम्बन्धित खबरहरु