काठमाडौ । मृत्यु अवश्यम्भावी छ भनिन्छ । निश्चित छ टारेर टार्न सकिन्न । तर भगवानले हात थापे अकाल मृत्युवरण भने टारेर टार्न सकिन्छ ।

जसलाई भाग्यले बाँचेकाहरु भन्ने गरिन्छ । मुगुमा भएको बस दुर्घटनामा ठूलो जनको क्षति भएको छ ।

त्यहाँ मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएपछि मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।

तर यही घटनामा ५ जना भने अनौठो संयोगले बाँचेका छन् । बाँचेका मात्र हैन । सामान्य चोटपनि लागेको छैन ।

गाडी दुर्घटना हुँदैगर्दा ३ जना गाडीबाट हाम फालेका थिए । उनीहरुलाई खासै चोट लागेन । गाडी भीरतर्फ खस्यो । उनीहरु रोडतर्फ नै हामफाले । अर्को झनै अनौठा संयोग छ ।

२ जना यात्रु दुर्घटना हुनुभन्दा केही पर मात्र ओर्लीए । उनीहरु पुग्नुपर्ने त अलिक माथी नै थियो । तर के ले खटायो केही मिटर तल नै ओर्लीए । उनीहरुले देख्दादेख्दै बस दुर्घटनामा पर्यो । प्रहरीलाई उनीहरुले बताए अनुसार आफ्नै आँखा अगाडी मृत्यु देख तर संयोगले टारिदियो ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो । प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।

यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।

घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपाली सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु