काठमाडौ । मुगु, छायाँनाथ रारा नगरपालिका-७ पिना तपने खोलास्थित जुम्ला मुगुसडकमा नेपालगंजबाट मुगु गमगढीतर्फ जाँदै गरेको भे.१ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका ३२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २४ जनाको घटनास्थलमै, ४ जनाको उपचारको लागि लैजाने क्रममा तथा ३ जनाको नर्सिङहोम नेपालगंज र १ जनाको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको नर्सिङहोम नेपालगंजमा, २ जनाको मेडिकल कलेज कोहलपुरमा र १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

कास्की, अन्नपूर्ण गाउँपालिका-१० हुदुस्थित नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग.१ ज ६९०० नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेहरुमा जिप चालक अन्नपूर्ण गाउँपालिका-५ नयाँपुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौं महानगरपालिका-३ गोंगबु घर भई पोखरा घुम्न आएकाहरु १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री रहेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका-८ परुवा खोला पुल नजिकै ना.७ ख ७४४८ नम्बरको बसको ठक्करबाट पैदलयात्री शम्शेरगंज बस्ने ३६ वर्षीया गीता चौधरी र बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी९खड्का०को सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, कोशी गाउँपालिका-७ स्थित सडकमा को.३९ प ९५६३ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले सोमबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार देवानगन्ज गाउँपालिका-६ बस्ने ३० वर्षीय राम नारायण मेहताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, भद्रपुर नगरपालिका-४ डांगीबारीस्थित सडकमा को.४ प ३३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय जन्तलाल राजबंशीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु