काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने आफूले बोध गरेको बताउनुभएको छ ।

देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि उहाँले तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भन्नुभयो ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।’

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजाको टिप्पणी छ ।

‘कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ उहाँले प्रश्न समेत गर्नुभएको छ ।

कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने भन्दै शाहले त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले, ‘दुर्भाग्यवस शिक्षा तथा स्वास्थ्यका व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको गुनासो गर्नुभयो ।

देशको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म–संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित हनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्रिय सु्रक्षा स्वार्थमा चुनौती थपिएकाले आफ्नो मन पोलेको उहाँले बताउनुभयो ।

पूर्वराजाले भन्नुभएको छ, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन र त्यो हाम्रो मान्यता पनि होइन न त परम्परा । शाहवंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान खोजिदैन ।’

केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भइ व्यक्ति विचारहरुले आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार गराएको पूर्वराजाको बुझाइ छ ।

प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास उहाँले लिनुभएको छ । भिडियो सन्देशमा उहाँले बडादशैँले त्यतातर्फ डोर्याओस् भन्ने कामना गर्नुभएको छ ।

सम्बन्धित खबरहरु