काठमाडौ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणका दुई अन्तिम खेल आज हुँदैछ । आज एकै समय दुई खेल हुनेछन् ।

जम्मा ४ टोली बाँकी रहेको प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

उता ७ पटकको विजेता भारतले आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे नेपाल र बंगलादेशको माले रंगशालामा सुरु हुनेछ ।

आजको खेलमा बराबरी मात्रै गरे पनि नेपाल फाइनलमा पुगेर इतिहास रच्ने अवसर छ । बंगलादेशले भने जित्नै पर्छ ।

यसैले नेपालले कि जित कि बराबरी मात्र गरेर इतिहास रच्नेछ । यता भारतलेपनि माल्दिभ्ससँग बराबरी मात्र खेल्यो भनेपनि फाइनलमा पुग्छ । माल्दिभ्सले जितेमा माल्दिभ्स फाइनलमा पुग्छ ।

प्रिम्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाललाई इतिहास रच्ने मौका र विश्वास रहेको बताएका छन् ।

नेपाल र बंगलादेश फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन् । तीमध्ये १३ खेलमा बंगलादेश र ७ खेलमा नेपाल विजयी भएको छ । दुई खेल बराबरी भएको छ । विगत हेर्ने हो भने नेपालभन्दा बंगलादेश बलियो टिम हो । तर यो प्रतिस्पर्धामा नेपाल बलियो टोली हो ।

साफ च्याम्पियनशीपमा भने नेपाल र बंगलादेश सातपटक आमनेसामने भएका छन् । जसमा नेपालले तीनपटक र बंगलादेशले चारपटक जीत हासिल गरेका छन् ।

यो प्रतिस्पर्धामा नेपालले शीर्ष स्थानमा रहेको माल्दिभ्सलाई र श्रीलंकालाई हराएर आएको छ भने भारतसँग भने पराजित भएको छ । बंगलादेश भने माल्दिभ्ससँग २–० गोलले पराजित भएको थियो ।

भारतसँग बराबरी र श्रीलंकासँग जित हात पार्दै बंगलादेश चौथो स्थानमा छ । भारतले नेपाललाई रक्षात्मक खेल्दा खेल्दै अन्तिम समयमा १ गोल गरेर नेपाललाई जितेको थियो ।

यदि भारतलाई त्यही खेलमा जित हासिल गरेको थियो भने नेपाल स्वतः फाइनलमा प्रवेश गर्ने थियो । यस्तो अवस्थामा आजको खेल बंगलादेशलाई जितेर नेपालले इतिहास रच्ने आँकलन भने सहजै गर्न सकिन्छ । यद्यपी यात्रा भने कठिन छ ।

 

सम्बन्धित खबरहरु