काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अबरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटा थाक्नुभएको छ ।

उहाँले आफू आत्मसमीक्षा गरेर सच्चिन तयार रहेको घोषणा गर्नुभएको छ । संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न र सच्चिने ठाउँसम्म सच्याउन तयार रहेको बताउनुभएको हो ।

आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै सभामुख सापकोटाले एमालेले पनि समीक्षा गर्दै सम्वादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ,’ बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख सापकोटाले भन्नुभयो, ‘हामी सबैले समिक्षा गरौं र सकारात्मक सोचका साथ संवाद थालौं ।’ जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प नभएको उहाँको भनाइ छ ।

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । संसद सन्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिस्कार गरिरहनुभएको छ ।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिशोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु ।’

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्ने आरोपको प्रतिवादसमेत गर्नुभयो । राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढाउन आफूले सहजीकरण गरेको उहाँले स्पष्ट पार्नुभएको छ ।

सभामुख सापकोटाले संसदको गरिमा बढाउन सरकार, गठबन्धन दल र सबै सांसदहरुले भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउनुभयो ।

सम्बन्धित खबरहरु